गन्तव्य १ ... लाकुरीभञ्जयाङ धेरै कुराको याँद दिलायो....

गन्तव्य १ ... लाकुरीभञ्जयाङ धेरै कुराको याँद दिलायो....

गरिएको सबै योजनाहरु जति सजिलो हुन्छ, त्यसलाई पुरा गर्न त्यति नै मिहेनत र परिश्रम गर्नुपर्ने भन्ने कुरा सुन्दा र गर्दाको महशुस आज फेरि एकपटक गरियो । शुरुवातमा त सकिहाल्छ नि जस्तो लागेको थियो, गुगल म्यापको सहयोगबाट म बस्ने ठाउबाट अन्दाजी २५ कि.मी र १ घण्टा २५ मिनेट देखाएको थियो, बाईक र गाडीको लागि.....।

   

तर मेरो साधन थियो साईकल त्यसैले मैले मेरो साथीसँग सल्लाह गरे बाटोको अवस्थाको लागि । उसले भन्यो, तल सम्म त ठिकै छ तर उकालो सुरू भएपछी अलि गाह्रो नै छ । त्यसैले मैले सोचे अन्दाजि ठाडो उकालो मलाई १ घण्टा लाग्ला तर सोचेको जस्तो केही पनि भएन । सुरुमा त ठिकै थियो, जव म ग्वार्कुबाट भित्र छिरे मेरो यात्रा पहिले नै १ घण्टाको भईसकेको थियो । त्यसैले अलि-अलि थाकिसकेको थिए तर यात्रा अगाडी बढाए । 

मलाई एउटा कुरा अचम्म लाग्यो, करिव ५ वर्ष अगाडी जादाँ त्यो लुवु जाने बाटोतिर ईमाडोलबाट नै हरियालि हेर्न पाईन्थ्यो जस्तो लाग्छ है, तर यसपालि मलाई हरियालि हेर्न र लामो सास फेर्न लामाटार नै पुग्नु पर्यो । अर्को रमाईलो कुरा, त्यो बाटो जाँदा कति मेरो पुरानो कुराहरु पनि याँद आयो, जसले मलाई झन् गन्तव्यतिर बढ्न थप हौसला दिईराखेको थियो । जव म अन्तिम बस स्टेसनमा पुगे, त्यहाबाट उकालो सुरू भयो, एकछिन त उकाले साईकल तर भोक लागेको महशुस भयो र एकछीन केही खानको लागी रोके । तर जव फेरी सुरू गरे खै किन हो मैले साईकल चलाउन नै सकिन सायद मेरो खुट्टा पुरा जाम भयो । 

त्यसपछि सुरु गरे हिड्ने यात्रा, विस्तारै अगाडी बढ्यो । जति हिडेपनि सडकको चिल्लो पत्र नसक्ने । बाटोमा जोडा-जोडीको बाईक र गाडी यात्रा, कयौ व्यक्तिहरु बाटोमै मधपान र नशालु पदार्थमा रमाईरहेको पनि देखे । गन्तव्यमा अगाडी बढिरहे, पुग्नु जो छ । जति हिडे पनि नसक्ने । फेरि एकछीन साईकल चलाउने आँट गरे तर सकिन । फेरि हिड्न सुरु गरे । बाटोमा व्यक्तिहरुले गरेका फोहोरहरुले मन अलि खिन्न बनायो, सोचे सामाजिक सञ्जालमा देश बिकास र युवा शक्तिको लागि खर्च गर्ने शब्द र जोश आफ्नो व्यक्तिगत जिवनको पाटोमा केहि प्रतिशत मात्र प्रयोग गरेको भए हुन्थ्यो कि जस्तो लाग्यो ।

बेला बेलामा गुगल म्याप हेर्थे, धेरै समय लाग्ने देखाईरहेको थियो । मन अतालिरहेको थियो कतिखेर पुग्ने भनेर किनभने समय दिनको मध्य घाममा थियो, शरिर पनि थाकिरहेको थियो । एकछिन त लाग्यो फर्किउ कि जस्तो, तर फेरि पनि मन बलियो बनाएर अगाडी बढे । म अगाडी बढिरहेको थिए तलतिर एकचोटी पनि हेरिन र माथितिर पनि हेर्न मन लागेन, बस भुईतिर हेरेर अगाडी बढिरहेको थिए । तर जव एउटा स्ल्यापमा गन्तव्य पुग्न २ कि.मी भन्ने देखे र तलतिर एकचोटी फर्केर हेरेको त, त्यो हरियाली, चिसो हावा र काठमाण्डौ उपत्यकाको  सानो दृश्य जसले मेरो थाकेको शरिरलाई फुर्तिपन दियो । 

बिस्तारै गन्तव्यतिर लागे, बल्ल बल्ल ३ घण्टा १५ मिनेट पछि म लाकुरीभञ्जयाङ पुगे । मन खुसी भयो तर एक्कासी रिस उठ्यो । डाडाको हरेक ठाउमा फोहोर बाहेक केहि पनि देखिन । मनदेखि नै रिस उठ्यो तर के गर्नु चुपचाप बस्नु बाहेक केहि उपाय देखिन । मनलाई सम्हालेर मेरो आफ्नो सोचतिर लागे । चिसो हावा खादै, काठमाण्डौ उपत्यकाको दृश्य हेर्दा मेरो सबै थकान मर्यो तर दिमागमा फेरि कसरी फर्कने भन्ने कुराहरु आईरहेको थियो । आजको यात्रालाई मैले एउटा उपलब्धि माने र निरन्तरता दिने सोच बनाएको छु । हेरौ के हुन्छ । 

सबै जनालाई मेरो सुझाव, कृपया घुम्न रमाईलो गर्न गएका ठाउहरुमा आफुले गरेको फोहोरलाई सही ठाउमा विस्थापन गर्ने बानि बसालौ ।