पुन्टेको पुर्ख्यौली
जिवनको यात्रामा थपिएको अर्को एउटा नसोचिएको यात्रा... न त कुनै योजना र न त कुनै उद्धेश्य तर पनि एकचोटी जसरी पनि जान्छु भन्ने सोच थियो । यो हो मेरो पुन्टेको पुर्ख्यौली भनेको मेरो जन्म स्थान (काभ्रे जिल्ला, भुम्लु गाउपालिका वडा नं ६, स्यालपुङगैरा) ।
वर्षौ पछि जाने मौका पाए तर त्यसको लागि अलि जोड बल गर्नु पर्ने अवस्था आयो । देशमा चुनावी माहोल थियो तर म चाहि आफ्नो बासस्थान जान पाउदा मनमा खुशी छाईरहेको थियो । साच्चै गाउघरको माया मनमा हुने रहेछ, जति नजिक पुग्न लाग्यो मन त्यति नै भाबुक हुने । तर विडम्बना गाउमा बस्ने युवाहरुको कमी र सबैको गुनासो सुन्दा चाहि अचम्म लाग्यो । हुन त यसको समाधान म सँग पनि छैन ।
गाउमा बिकास त भएको नै हो । बाटो, व्यापार अनि सोच्ने तरिका तर पनि मानिसको उपस्थितिको कमी । तर म गाउ पुग्दा चाही त्यहा एउटा ब्रतबन्धको पार्टी हुदै रहेछ जसले गर्दा मानिसहरुको बाक्लो उपस्थिती देखे । रमाईलो त के हुदोरहेछ भने मानिसहरुको सबैको रमाउने तरिका फरक-फरक । कसैलाई त्यहि सानो र सरल लाग्न सक्छ भने कसैलाई त्यही एकदम बिशेष पनि ।
लगभग म गाउ पुग्दा दिनको ३ बजेको थियो र म एकदम खुशि थिए किनभने वर्षौ पछि गाउ आएको र आफ्नो जन्म स्थान, जहाँ म प्राय जसो आफ्नो जाडो बिदा कटाउन र दशै, तिहारको बेलामा जाने गर्थे तर यसो गन्ति गर्दा म यसपाली ५-६ वर्ष पछि गाउ पुगेको रहेछु । आफन्तको माया, स्नेह र वास्ता देख्दा मन एकदम भावुक भयो । गाउमा बिताएको लगभग ६-७ घण्टा मेरो लागि एकदम सार्थक बन्न पुग्यो । मन त धेरै दिन बस्ने थियो तर काम विशेषले फर्कनु पर्यो । साच्चै भन्नुपर्दा फर्कने मन थिएन चाडै ।
देखिएका र भोगिएका कुराले के सिकायो भने रमाउन सिक्न र जान्नु पर्ने रहेछ। अरुको अगाडी, फोटो र भिडियोको लागि मात्र हास्न र रमाएको जस्तो गर्न चाही नहुने रहेछ ।