को हु म?
को हु म? कहिलेकाही आफैलाई सोध्ने प्रश्न हो मेरो । के छ म सँग ? के गर्दैछु र किन बाच्दैछु । साच्चै रमाईलोको साथ मन खुशी छ त? कति असल काम गरे, कतिसँग सहकार्य गरे? कतिको मन दुखाए । कति तिरस्कार सहे र भोगे । खोज्दैछु जिन्दगीको सार, उकाली ओरालीका प्रश्नहरु । साथ दिन खोजे जस्तो गर्ने स्वार्थी समाजबाट पाएका केहि घनिष्ट मित्रहरुको साथ । मनमा अनेकौ प्रश्न आउने गर्छन्, कहिले किताब खोल्छु पढ्ने प्रयत्न गर्छु, कहिले उभिन्छु, कहिले बिस्तारै हावामा बहकिने प्रयास गर्छु तर पनि मनमा आएका अनगिन्ती प्रश्नहरुको सहि उत्तर नपाउदाको पिडा मनमा रहिनै रहन्छ ।
अचानक एउटा तितो अनुभवको स्मरण आउछ अनि फेरि मन भारी बनाउदै, किन है त्यस्तो भनि आफुले आफुलाई नै प्रश्न गर्ने गर्छु । त्यसैबखत मन भित्रको मनुवाले बिस्तारै सुसेल्दै भन्छ, "कति लटरपटर गरेको, सधै तितो अनुभव मात्र नसोच्न, कति मिठा कुरा पनि त छन् नी" भन्ने बित्तिकै यो मन र दिमागलाई विपरीत दिशामा घुमाउने प्रयत्न गरे, केहि खुशी महशुस गरे । म सँग त अनेकौ सफलताको सिढी पनि त रहेछ र त्यही प्रहर लाग्यो यो मन, मष्तिष्कमा सहि भन्दा गलत कुराहरुले चाडो डेरा बसेर, लामो समयसम्म घरमा नसर्ने प्रयास जारी रहदो रहेछ । बस् एक सहि र सकारात्मक सोचको नयाँ कोठा बनाउने प्रयास गर्दा नै नयाँ घरको जग बस्ने रहेछ । दिमागमा उठ्ने अनगिन्ती प्रश्नहरुको सहि समाधान र उत्तर नपाउदा दुखेको मनलाई सम्हाल्ने प्रयास गर्दा, म आफैले आफैलाई एउटा प्रश्न गरेः- "कुन कुराले चाहि मेरो मन धेरै दुख्यो? के त्यो सही हो र? मन दुखाउनु जरूरी छ? दुखी हुनु जरुरी छ?" धेरै प्रश्नहरु सोधे तर पनि मैले सहि मन बुझ्ने उत्तर पाउन सकिन । कति पल, मध्य रात यसरी नै सोच्न थाले, लाग्थ्यो कतै मैले मेरो समयको उचित व्यवस्थापन गर्न नसकेको त हैन ।
यो समय र काल खण्डमा कयौ व्यक्तिहरुसँग संगत हुन पुग्यो कसैले मेरो समय लग्यो, कोही स्वार्थी बन्यो, भन्नु नै पर्दा सायद "बनाईएका हरेक सम्बन्ध स्वार्थी हुदोरहेछ, अनायासै बनेको सम्बन्ध भन्दा" । मसँग कसैले खोस्न र लान नसक्ने भनेको मेरो अनुभव, विचार, ज्ञान र सोच नै हो रहेछ जुन कसैसँग दाज्दा म भन्दा कम उमेरको व्यक्तिसँग सधै कम र उमेर बेसि भएको मान्छेसँग सधै धेरै हुन्छ । आत्मग्लानी त त्यतिखेर लाग्दो रहेछ जतिखेर कसैले आफुलाई गोटी बनाएर चालेको चाल पनि नबुझि लुरुलुरु अघि बढ्दा । गल्ती त्यहा गरिदो रहेछ जहाँ मन कमजोर बन्न पुग्दो रहेछ । सम्हाल्ने प्रयास नगर्नु अर्को गल्ति हुदोरहेछ र गल्ती दोहोर्याई राख्नु चाही महा गल्ति या आफुलाई नै पिडा दिनु हुदोरहेछ । कतै पढेको थिए "लडाईमा लड्नु भन्दा अगाडी नै हार स्विकार गर्नु हुदैन, कि त जितेर सफलता प्राप्त हुन्छ या त हारेर ज्ञान" - स्वस्पर्श
आज म कसैसँग गुनासो गर्ने भन्दा पनि आफुले के गल्ती गरे र त्यसलाई फेरी नदोहोर्याउन के गर्नु सक्छु भनि त्यसको लागि प्रयास गर्दै छु । अहिले दुःख के मा लागेको छ भने मैले किन मेरो आफ्नै शरीरलाई दुखाए, मन मष्तिष्कलाई धेरै नकारात्मक बनाए, किन सम्हालिने प्रयास गरिन भनेर सोच्दैछु । यहि गर्छु भन्ने सोच त छैन, तर त्यही गल्ती फेरी पनि गर्दिन भन्ने अठोट चाहि गरेको छु । केही प्रतिशत भए पनि मैले आफुलाई चिन्ने मौका पाएको छु ।